सिन्धुली जीप दुर्घटनाः सशस्त्रको गोताखोर सिन्धुली जाँदै



सिन्धुली । शुक्रबार दिउँसो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारी बोकेर काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको स्कोर्पिओ सिन्धुलीको सुनकोशी नदीमा खस्यो ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनमा सुनकोशी नदीमा खसेको उक्त स्कोर्पिओमा सीटीईभीटीका तीन जना निर्देशक बेपत्ता भएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिएका छन् ।

एसपी सिलवालका अनुसार सीटीईभीटीका निर्देशकत्रय कृष्ण केसी, यामप्रसाद भुर्तेल र भानु पौडेल नदीमा बेपत्ता भएका छन् ।  स्कोर्पिओका चालकले भने पौडिएर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।

उनीहरूको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालआश्रित गुल्म सिन्धुलीबाट डीएमसहित सशस्त्र प्रहरी निरिक्षक कमान्डको १३ जना, सशस्त्र प्रहरी बल, नेपाल रामेछाप गुल्मबाट सशस्त्र प्रहरी नायब निरिक्षक कमान्डको ९ जना र काठमाडौं सिनामंगलस्थित सशस्त्र प्रहरी बल, नेपाल  नं. २० बिपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमान्डको ७ जना गोताखोर टोली खटिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।