

सुन्धाराको होटलमा मृत भेटिए डाक्टर बसन्त कार्की

काठमाडौं । ओखलढुंगाका डा. वसन्त कार्की सुन्धाराको एक होटलमा मृत अवस्थामा फेला परेका छन् ।
बुधबार साँझ ६ बजे प्रहरीले डा. कार्कीलाई सुन्धारास्थित एक होटलमा उनी बसिरहेकै कोठाभित्र मृत अवस्थामा फेला पारेको हो । महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी भेषराज रिजालकाअनुसार बुधबार साँझ उनी होटलको आफू बसिरहेको कोठामा मृत अवस्थामा फेला पारेको थियो ।
हिजो साँझ ४/५ बजेसम्म बाहिर ननिस्केपछि होटलवालाले ढोका ढकढकाउदा नखुलेपछि प्रहरीलाई खबर गरेको थियो।
ढोकाको काँचको छिडीबाट हेर्दा सुतिरहेको अवस्थामा देखेपछि ढोका फोडेर भित्र पस्दा कार्की मृत अवस्थामा थिए ।
प्रहरीकाअनुसार केही विषका बट्टाहरु पनि सुतेको कोठाबाट बरामद भएका छन् । प्रहरीले उनलाई मुखबाट फिज निस्केको अवस्थामा फेला पारेको थियो । अहिले घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ । डा. कार्कीले १५ जेठबाट कोठा लिएर बसेको जानकारी आफूहरुलाई प्राप्त भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले बताए । प्रहरीकाअनुसार उनले आफू वर्कसपका लागि प्रिजेन्टेसनको तयारी गरिरहेकाले डिस्टर्व नगर्न होटलका कर्मचारीलाई आग्रह गरेका थिए ।
नेपाल चिकित्सक संघले डा. कार्कीको असामयिक निधनबाट स्तब्ध भएको जनाएको छन् । ‘ओखलढुंगाको सच्याम स्थायी घर भएका डा. कार्कीले भैरहवास्थित युनिभर्सल मेडिकल कलेजबाट एमबीबीएस गरेका थिए । छात्रवृत्तिमा एमबीबीएस अध्ययनरत दुई वर्ष छात्रवृत्ति करारनामाअनुसार ओखलढुंगामै काम गरेका थिए ।