बाँके दुर्घटनामा ज्यान गुमाउने सवारी चालक अधिकारी सशस्त्रका हवल्दार !



काठमाडाैं । बाँकेमा मंगलबार भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएका सवारी चालक सशस्त्र प्रहरी बलका वरिष्ठ सहायक हवल्दार रहेको खुलेको छ ।

दुर्घटनामा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी माइली बुहारी सञ्जु खाती खड्का र चालक सशस्त्र प्रहरी बलका बरिष्ठ सहायक हवल्दार सुवास अधिकारीको मृत्यु भएको जनाइएको छ ।

शसस्त्रका हवल्दार अधिकारीले उपप्रधानमन्त्री खड्काको सवारी चलाउँदै आएको जनाइएको छ । उनी कसरी दुर्घटनाग्रस्त कार चलाउन पुगे भन्ने कुरा भने खुलेको छैन ।

पारिवारिक स्रोतका अनुसार चालक अधिकारी सशस्त्रका हवल्दार हुन् । सरकारी कर्मचारी कसरी प्राईभेट कार चलाएर हिँडे र बाँकेमा दुर्घटनामा परे भन्ने विषय गम्भीर रहेको उनीहरु बताउँछन् ।

यता, सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले भने सुवास सशस्त्रको कर्मचारी भएको बताए । ‘उहाँ सशस्त्रको कर्मचारी हो, तर मंगलबार डिउटीमा हुँदै जानुभएको हो कि होइन त्यस बारे बुझिरहेका छौँ ।’ प्रवक्ता खड्काले भने ।

गोरखा, आँपपिपलका ३७ वर्षीय सुवास अधिकारीका दुई छोरी र श्रीमती छन् ।

मंगलबार धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे१ख ३३३५ नम्बरको बसले काठमाडौंबाट कोहलपुरतर्फ आउँदै गरेको बा१३च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालक सुवास र सञ्जुको मृत्यु भएको थियो । सञ्जु सुर्खेत प्रदेश अस्पतालकी चिकित्सकका साथै उपप्रधानमन्त्री खड्काकी माइली बुहारी समेत थिइन् । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, कोहलपुर बाँकेले जनाएको छ ।