लहानमा निःशुल्क स्वास्थ्य शिविर, हजारौँले पाए उपचार



लहान – लहान नगरपालिका–२२ ले लहान क्यान्सर केयर सेन्टरको सहकार्यमा दक्षिण एसियाकै नमूना पूर्वाञ्चल क्यान्सर अस्पताल र बि.एण्ड सी. टिचिङ्ग अस्पताल विर्तामोड झापाको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
शनिबार सम्पन्न शिविरमा हजारौँ स्थानीयवासीले स्वास्थ्य चेकजाँच र औषधी पाएका छन् ।
शिविर उदघाटन कार्यक्रममा बोल्दै मेयर महेश चौधरीले यस्तो शिविरहरु अझै आयोजना गर्न सहकार्य गरी अगाडी बढ्ने बताए । यसअघि पनि वडाहरुमा निःशुल्क आँखा शिविर आयोजना गरी १००० जनालाई निःशुल्क मोतिविन्दुको शल्यक्रिया गराउन सफल भएको सुनाए ।
मेयर चौधरीले अब केही दिनमै महिलाहरुमा विकराल रुपमा देखा परेका पाठेघरको विरामीलाई शिविर गरी उपचारमा सहयोग गर्ने पनि जानकारी गराए ।
वडाका सम्पूर्ण जनताको स्वास्थ्य उपचारमा सहज बनाउन शिविरहरु अझै सञ्चालनमा ल्याउने वडा अध्यक्ष श्याम अधिकारी थारुले बताए ।