यी हुन् वर्षमानकी आमामाथि गोली चलाउने उनकै नाति प्रहरी हवल्दार प्रकाश पुन…



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’को आमा गोली लागेर घाइते भएकी छन् । गएराति करिब १० बजे गैरीधारास्थित निवासमा प्रहरी सहायक हबल्दार प्रकाश पुनमगरले चलाएको गोली लागेर तीर्थमाली पुन घाइते भएकी हुन् ।

नातामा गोली हान्ने प्रहरी हबल्दार पुनमगरको वर्षमान काका र तीर्थमाली हजुरआमा हुन् । शुक्रबार राति उनी नाताले हजुरआमा पर्ने वर्षमानकी आमा तीर्थमालीलाई भेट्नको साथसाथै नयाँ वर्ष मनाउन भन्दै गैरीधारास्थित निवासमा पुगेका थिए ।

तीर्थमालीको पारिवारिक स्रोतका अनुसार पारिवारिक जमघटको माहौल चलिरहेको थियो । हबल्दार मगरले पनि मादक पदार्थ सेवन गरेका थिए । सोहीक्रममा सामान्य विषयमा विवाद उत्पन्न भयो । विवादकैबीच मगरले आफूसँग रहेको पेस्तोल निकालेर तीर्थमालीलाई गोली प्रहार गरेका हुन् ।

गोली चलाएलगत्तै हबल्दार मगरले आफ्नो पेस्तोल त्यहीँ छाडेर भागेको बताइएको छ । घटना शुक्रबार बेलुकी साढे ९ बजेको भए पनि प्रहरीले मध्यराति १ बजे मात्रै खबर पाएको थियो । त्यसपछि खटिएको टोलीले कोठाबाट मगरलाई पक्राउ गर्न सफल भएको छ ।

यता, प्रहरी वृत्त मालिगाउँको टोलीले गएराति नै उक्त पेस्तोल बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानबाट १ राउण्ड फायर भएको देखिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट चिनियाँ ‘टाइप–५४’ पेस्तोल बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए ।

उक्त पेस्तोल भीआईपी सुरक्षामा खटिने प्रहरीहरूले प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ । सामान्य अवस्थामा सहायक हबल्दारले पेस्तोल बोक्न पाउँदैनन् । तर, हबल्दार मगर भीआईपीको सुरक्षामा खटिने प्रहरी रहेको खुलेको छ ।

हबल्दार मगर कामु प्रधानन्यायाधीशको सुरक्षार्थ खटिने प्रहरी रहेको नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपेन्द्र जिसीले बताए । मगर ड्यूटी सकेर तीर्थमालीको घर पुगेका थिए । भीआईपीको सुरक्षामा खटिएको हुनाले साथमा पेस्तोल लिएरै गएका थिए ।

बागडोलस्थित कोठाबाट पक्राउ परेका सहायक हवल्दार मगरलाई अहिले अनुसन्धानका लागि नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा लगिएको छ । त्यहाँ उनलाई राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

यता घाइते पुनकी आमाको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार हुँदैछ । उनको अवस्था सामान्य रहेको छ । यता, वर्षमान उपचारको क्रममा चीनमा छन् ।