

एआईजी बढुवाका लागि आयोगको स्वीकृति, ४ पदका लागि दर्जन आकांक्षी

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवाको तयारी गरिएको छ ।
निर्वाचनका कारण मंसिर १९ गतेसम्म निर्वाचन आचारसंहिता लाग्ने भएकोले लामो समयदेखि एआईजी पद रिक्त रहेकोले गृह मन्त्रालयले निर्वाचन आयोगबाट बढुवाको लागि अनुमति लिएको जनाइएको छ ।
गृहको पत्रअनुसार आयोगले ४ एआईजी बढुवा र आवश्यकता अनुसार प्रहरी अधिकृतहरुको सरुवाका लागि अनुमति दिएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।
नेपाल प्रहरीमा २०७९ साउन २० मा एआईजी विश्वराज पोखरेल, भदौ २३ मा मुकुन्दराज आचार्य, कार्तिक १४ मा अरुण बि.सी र कार्तिक २४ मा रबिन्द्र धानुकले अवकाश पाएका थिए । उनीहरुको अवकाशसँगै प्रहरीमा चार दरबन्दी रिक्त रहेको छ ।
चार पदका लागि दर्जनबढी आकांक्षी रहेका छन् । मेरिट लिस्टका आधारमा प्रहरी महानिरीक्षक (आईजी) धिरजप्रताप सिंहकै ब्याजीहरु अग्रपंक्तिमा रहेका छन् । लिस्टअनुसार मसाउद अलम खाँ, नल प्रसाद उपाध्याय र मोहन कुमार आचार्य अगाडि रहे पनि अन्य डिआईजीहरु आकांक्षी रहेका छन् ।
जसअनुसार गत असारमा डिआईजीमा बढुवा भएका अशोक सिंह, बसन्त बहादुर कुँवर, टेकप्रसाद राई र दिपक थापा प्रतिस्पर्धामा अगाडि छन् । त्यसबाहेक किरण बज्राचार्य, मिरा चौधरी, सन्दिप भण्डारी, दुर्गा सिंह र किरण राणा पनि एआईजीका प्रतिस्पर्धी हुन् ।