दानवीर मैयाँदेवी श्रेष्ठको निधन



चितवन । समाजसेवी तथा पूर्व सांसद मैयादेवी श्रेष्ठको निधन भएको छ ।

मैयादेवी कन्या कलेजकी संस्थापक संरक्षक समेत रहेकी श्रेष्ठको गएराती १ः१० बजेको समयमा उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ ।

९५ वर्षीया श्रेष्ठ विगत केही दिन देखि बिरामी थिइन् ।

श्रेष्ठले देशभरका विभिन्न संस्थाहरुलाई करोडौं रुपैयाँ दान दिएकी थिइन् । त्यसैले उनलाई नेपाली समाजमा दानवीर महिलाका रुपमा पनि चिनिन्थ्यो ।

 

संक्षेपमा मैयादेवी

विसं. १९८५ असोज ५ गते फूलपातीका दिन तनहुँको बन्दीपुरमा जन्मिएकी मैयादेवी, पिता वीरबहादुर श्रेष्ठ र आमा गणेशकुमारी श्रेष्ठकी दोस्रो सन्तान हुन् । त्यसबेला वीरगञ्जमा डिठ्ठा रहेका वीरबहादुर श्रेष्ठले १९८० सालतिरै चितवनको नारायगढमा थुप्रै जमिन जोडेका थिए ।

छोरीलाई मुम्बईमा राखेर आईए पढाएका श्रेष्ठ दम्पत्तीले सम्पत्ती पनि दुई सन्तानलाई भाग लगाइदिएका थिए । मुम्बईमा रहँदै कांग्रेसको सम्पर्कमा आएकी मैयादेवीले आफ्नो भागमा परेका सारा सम्पती लोक हितमा लगाइन् । उनका दाजु कमलप्रसाद श्रेष्ठका छोराहरु पनि समाजसेवीमा गनिएका छन् ।

मैयादेवीले महिलाहरुको उच्च शिक्षाका लागि भरतपुरमा मैयादेवी कन्या कलेज स्थापना गरिन्, जहाँ अहिले ११ कक्षादेखि स्नातकोत्तर तहसम्म करिब आठसय छात्रा अध्ययनरत छन् ।  ०५७ सालमा १६ कठ्ठा जमिनमा बनेको कलेजमा व्यवस्थापन, मानविकी र नर्सिङ पढाइ हुन्छ ।

मैयादेवीले नारायणगढ बजारको बालकुमारी कन्या स्कूललाई पनि १० कठ्ठा जग्गा दिएकी छन् ।

 

दानै-दान

मैयादेवी श्रेष्ठले आफ्नो जीवन समाजसेवा र राजनीतिमा लगाइन् । उनको बढी झुकाव समाजसेवामा छ । रविभवनमा रहेको नेपाल तरूण दलको केन्द्रीय कार्यालय मैयादेवी श्रेष्ठले दिएकी हुन् ।  कांग्रेसको चितवन जिल्ला कार्यालय पनि मैयादेवीले नै दान गरेको जग्गामा छ । यो जग्गालाई अहिले करोडमाथि पर्छ । मैयादेवीले चितवनमै प्रेस युनियनको भवन बनाउन १५ धुर जग्गा दान गरेकी थिइन्।

कांग्रेस पार्टीका लागि मैयादेवीले ६ करोड ५० लाख बराबरको जग्गादान गरेको ‘मैयादेवी ट्रष्ट नेपाल’का महासचिव टंकनाथ पौडेलले बताए ।

उनले दीनदुःखीलाई गरेको दानको कुनै हिसाब नभएको धर्मपुत्र पौडेल बताउँछन् । मानव सेवा आश्रम, भरतपुर शाखाको भवन निर्माणका लागि बेलचोकको करिब २० करोड पर्ने जग्गा दान गरेको उनले बताए । पौडेलका अनुसार, आश्रमलाई मैयादेवीका भदाहाहरु स्व. भगवानदास श्रेष्ठ र प्रेमकुमार श्रेष्ठका परिवारले पनि आठ कठ्ठा जग्गा दान गरेका छन् ।

अविवाहित मैयादेवीका चार धर्मपुत्र छन् । उनले ती सबैलाई सम्पती दान दिएकी थिइन् । आमाले जीवनभर ४५ जनाभन्दा बढीलाई जमीन दान दिएको धर्मपुत्र पौडेल बताउँछन् । उनका अनुसार, मैयादेवीसँग अब भरतपुर– ११ बसेनीमा करीव एक बिघा र देवघाटमा केही जमीन बाँकी छ ।

मैयादेवी श्रेष्ठले दुईवटा ट्रष्टका नाममा करोडांैका मूल्यका घरजग्गा र नगद राखेर अक्षय कोष स्थापना गरेकी छन् । नारायणघाट बजारको तीन तले घर ट्रष्टका नाममा पास गरिदिएकी थिइन्। ट्रष्टले शिक्षा, स्वास्थ्य, महिला लगायतका क्षेत्रमा काम गर्दै आएको छ । देवघाटमा ०५४ सालमा स्थापित ओम शान्ति मैयादेवि ट्रष्ट सक्रिय छ भने मैयादेवी ट्रष्ट पनि क्रियाशील छ ।

 

कांग्रेसको राजनीति र सांसद

मैयादेवी श्रेष्ठले २००३ सालमा वीपी कोइरालाबाट कांग्रेसको सदस्यता लिएकी हुन् । वीपीले उनका औंला ब्लेडले चिरेर रगतको ल्याप्चे लगाई सदस्यता दिएको मैयादेवी बताउँथिन् ।

उनलाई मन पर्ने नेता पुष्पलाल श्रेष्ठ पनि हुन्, जो तीन वर्ष बन्दीपुरमै बसेका थिए । २००७ सालको क्रान्तिमा बन्दीपुरमै सक्रिय भएकी मैयादेवी २०१४ को भद्र अवज्ञा आन्दोलनमा जेल परिन् । २०१७ सालमा राजा महेन्द्रले सत्ता पलट गरेपछि भारत पलायन भएकी उनले २०१८ देखि २०२० सालसम्म ऋषिकेशमा कांग्रेसको राजनीति गरिन् ।

लामो समय महिला संघको चितवन जिल्ला अध्यक्ष रहेकी उनी ०४८ सालमा गोरखा क्षेत्र नं. २ बाट सांसद निर्वाचित भइन् । २०५६ सालमा राष्ट्रिय सभामा मनोनित भइन् । ०६२/०६३ को जनआन्दोलनपछि पुनस्थापित संसदमा पनि उनी सांसद थिइन् ।