सुदूरपश्चिमका मन्त्री सुवेदीमा कोरोना संक्रमण



कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । मन्त्री सुवेदीलाई ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि नमूना परीक्षण गराउँदा सोमबार कोरोना पोजेटिभ देखिएको उनका स्वकीय सचिव लोकेन्द्र धामीले बताए ।

कोरोनाको सङ्क्रमण देखिएपछि होम आइसोलेसनमा बस्नुभएका मन्त्री सुवेदीको स्वास्थ्य अवस्था सामान्य रहेको धामीले बताए । यसअघि मन्त्री सुवेदीका अर्का स्वकीयसचिव र दुई सुरक्षा गार्डमा समेत कोरोना सङ्क्रमण देखिएकोको थियो ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह कोरोना सङ्क्रमित भई हाल काठमाडौँमा उपचाररत छन् । गएको कात्तिक १५ गते उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनका स्वकीय सचिव जङ्गबहादुर विकले मन्त्री शाहको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिए ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा कोभिड–१९का कूल सङ्क्रमित १० हजार ५३५ पुगेका छन् । तीमध्ये आठ हजार ८१३ सङ्क्रमित उपचार व्यवस्थापनपछि डिस्चार्ज भएका छन् । सेती प्रादेशिक अस्पतालको सघन उपचारकक्ष (आइसीयू) मा पाँच जना उपचाररत छन् ।

सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार प्रदेशमा यो रोगको सङ्क्रमणबाट अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी प्रदेशको राजधानी जिल्ला कैलालीमा १७ जनाको मृत्यु भएको छ । यस्तै बझाङमा तीन, अछाम, बाजुरा, कञ्चनपुर र डडेलधुरामा दुई/दुई र बैतडी, दार्चुला र डोटीमा एक÷एक जनाको मृत्यु भएको छ ।

पछिल्लो दुई हप्तायता सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट मृत्यु हुने दर बढ्दै गएको छ । यो अवधिमा आठ सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमितमध्ये होम आइसोलेसनमै मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दा कोरोना फैलिने जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।