वडातहको स्वास्थ्य सेवालाई व्यवस्थित बनाउने छौं: अध्यक्ष अधिकारी



पैयूँ । पर्वतको पैयूँ गाउँपालिका वडा न ६ सरौखोलाका अध्यक्ष गंगाधर अधिकारीले वडातहको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आफु प्रतिबद्ध रहेको बताएका छन् ।

मंगलबार सरौंखोला स्वास्थ्य चौकी सञ्चालन समितिको पुर्नगठन कार्यक्रममा उनले स्थानीय सरकारलगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासँगको समन्वय र सहकार्यमा वडातहको स्वास्थ्य सेवाको दायरा फराकिलो बनाउन पहल भइरहेको बताएका हुन् ।

अपाङ्ता, असक्तता तथा वृद्वृद्धालाई घरमै पुगेर स्वास्थ्य सेवा प्रवाह गर्ने कार्यक्रमका बारेमा गाउँपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य चौकी प्रमुखलगायतका सँग छलफल अगाडि बढिरहेको अध्यक्ष अधिकारीले बताए । छिट्टै नै घरघरमा स्वास्थ्यकर्मी कार्यक्रमका लागि छलफल सकारात्मक रुपमा अगाडि बढिरहेको जानकारी उनले दिए ।

त्यसका लागि स्वास्थ्यकर्मीलाई प्रोत्साहन कार्यक्रमका बारेमा पनि छलफल भइरहेको छ, अधिकारीले भने । स्वाथ्य चौकी संचालन समितिको पुर्नगठन कार्यक्रममा वडाध्यक्ष अधिकारीले उक्त स्वास्थ्य चौकीमा रगत, पिसाबलगायतका जाँचहरुमा लाग्ने दस्तुर अब नलाग्ने घोषणा समेत गरेका छन् । यस्ता जाँच गर्दा नागरिकलाई थोरै भएपनि सुबिधा होस् भन्ने हेतुले शुल्क नलाग्ने घोषणा गरिएको जानकारी उनले दिए । वडाकै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको स्थापनाका लागि आवश्यक मापदण्डका बारेमा पनि छलफल चलिरहेको अध्यक्ष अधिकारीले बताए ।

स्वास्थ्यमा नागरिकको सहज रुपमा पहुँच स्थापित गराउनका लागि बेला बेलामा स्वास्थ्य शिबिर लगायतका स्वास्थ्य सम्बन्धि विविध कार्यक्रमको आयोजना गर्ने लक्ष्यसमेत वडाले राखको वडाअध्यक्ष अधिकारीको भनाई छ । गाउपालिका अध्यक्ष संरक्षक हुने गरि वडाध्यक्ष नै अध्यक्ष रहने गरि स्वास्थ्य चौकी संचालन समिति निर्माण गरिदै आएको छ ।