राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा: निर्वाचन आयोग
१९ सिटका लागि बुधबार बिहानदेखि मतदान हुने
काठमाडौं । बुधबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने छ ।
सात प्रदेशका आठ स्थानमा मतदानको व्यवस्था गरिएको छ । प्रदेश १ को विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र बाली संरक्षण प्रयोगशालामा, मधेश प्रदेशको जनकपुरधाम, बागमती प्रदेशको हटौंडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ घोराही, कर्णाली प्रदेशको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको धनगढीमा मतदान स्थल तोकिएको छ । यी ८ स्थलमा १४ केन्द्र बनाएर मतदान गरिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचनका लागि आवश्यक सबै तयारी लगभग सकिएको बताए । मतदान केन्द्रहरुमा आज बुथ निर्माणको काम जारी रहेको र केही समयमा त्यो काम पनि सकिने उनले बताए ।
प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि निर्वाचन हुनेछ ।
आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले निर्वाचन गर्न लागिएको हो । सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।
निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ९ दलका ४३ जना उम्मेदवार छन् ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यहरु र स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले भाग लिन पाउँछन् । सातै प्रदेशमा कूल २०२५ मतदाता छन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रंगको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् ।
प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुखको मतभार १८ निर्धारण गरिएको छ ।