प्रतिनिधिसभाको बैठक १८ पुससम्म स्थगित , एमालेको अवरोधबीच चार अध्यादेश स्वीकृत



काठमाडौं । प्रतिनिधिसभाको बैठक १८ पुससम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले १८ पुस आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिएका हुन् ।

संसदको चालू १०औँ अधिवेशनको तेस्रो बैठकले चारवटा अध्यादेशलाई स्वीकृत गरेको छ ।

बुधबारको बैठकले प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८  र रेल्वे अध्यादेश २०७८ लाई बहुमतले स्वीकृत गरेको हो ।

चालू अधिवेशनको दुईवटा बैठकमा जस्तै बुधबार बसेको बैठकमा पनि एमाले सांसदले नाराबाजी कायम राखेका छन् । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदले नवौँ अधिवेशनदेखि नै बैठकमा नाराबाजी कायम राख्दै आएका छन् ।

नाराबाजीकै बीच चार अध्यादेश स्वीकृत

यसैबीच प्रमुख प्रतिपक्षी दल एमाले सांसदले नाराबाजी गरिरहँदा प्रतिनिधिसभाले बुधबार चारवटा अध्यादेश स्वीकृत गरेको छ ।

बैठक सुरु हुनासाथ एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरे । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुचारु हुने वातावरण बनाउन आग्रह गरे । तर, एमाले सांसदले नाराबाजी रोकेनन् ।

यसपछि सभामुख सापकोटाले कार्यसूचीमा प्रवेश गराएको बैठकले विभिन्न चारवटा अध्यादेशलाई स्वीकृत गरेको हो ।

बुधबारको बैठकले प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८  र रेल्वे अध्यादेश २०७८ लाई बहुमतले स्वीकृत गरेको हो ।

यसअघि उक्त चार अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सांसद प्रेम सुवालको प्रस्तावलाई बैठकले अस्वीकार गरेको थियो ।