आज इद उल फित्र, देशभर सार्वजनिक बिदा



काठमाडाैं – नेपालका इस्लाम धर्मावलम्बीले आज इद उल फित्र पर्व मनाउँदै छन् । इस्लाम धर्मालम्बीले आज बिहानदेखि इद उल फित्र पर्व धार्मिक विधिपूर्वक उत्साहका साथ मनाइरहेका छन् ।

यस पर्वको उपलक्ष्यमा इस्लाम धर्मावलम्बी बिहानै चोखो भएर नयाँ वस्त्रधारण गरी इदगाहमा पुगी नवाज अदा गरी एक अर्काका साथ खुसियाली साटेर पर्व मनाइरहेका छन् ।

एक महिनाको रोजा समापनअघि मुसलमान समुदायले इदगाह पढ्ने स्थानमा भेला भई नवाज पढेर अल्लाहप्रति दुवा गर्दै मानव जीवन सुखमय होस् र कोही पनि दीनदुःखी हुन नपराेस‍् भनी प्रार्थना गर्दछन्। त्यसपछि एक-आपसमा अँगालो मारी शुभकामना आदानप्रदान गरिन्छ। सम्पूर्ण मानव समुदायलाई अनेकतामा एकताको सन्देश दिने पर्वका रूपमा यस पर्वलाई लिइन्छ।

सबैमा भाइचारा बढाउन र उपकारको भावना जागृत गर्न नियमअनुसार अन्न र पैसा दान गरी नहुनेहरूको अभाव टार्ने गरिन्छ। यसरी संसारलाई बराबरीको हकदार बनाई जीवनलाई अल्लाहमा समर्पण गर्ने प्रण रोजाका अवसरमा गरिन्छ। रोजा बसिसकेपछि मरेपछि जन्नत (स्वर्ग) पुगिने धार्मिक जनविश्वास छ।

खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फितर भनिएको हो । अरबी पात्रोअनुसातर नवौँ महिनाको अन्तिम दिन आज इद उल फितर पर्व मनाउन लागिएको हो। यो पर्वमा जुनसुकै वर्गका मुस्लिमले पनि यस दिन मिठोमसिनो खाई पर्व मनाउँछन्। इदुल फित्रका अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।