अमेरिकाद्वारा १५ लाख बढी ‘जोन्सन एण्ड जोन्सन’ भ्याक्सिन नेपाललाई हस्तान्तरण, यस्तो छ यो खोपको विशेषता



काठमाडौं । अमेरिकाले नेपाललाई कोभ्याक्समार्फत पठाएको १५ लाखभन्दा बढी डोज कोरोनाबिरुद्धको भ्याक्सिन सोमबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । सोमबार बिहान कतार एयरवेजको विमानमार्फत नेपाल आईपुगेको खोप नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् । अमेरिकाले नेपालका लागि अमेरिकामा स्वीकृत जोन्सन एण्ड जोन्सन भ्याक्सिन पठाएको हो ।

अमेरिकाले एसियाका विभिन्न देशलाई दिने २३ मिलियन डोज भ्याक्सिनमा नेपाललाई पनि भ्याक्सिन उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । अमेरिकाले जुनको पहिलोसाता झण्डै ७ मिलियन डोज एसियाका देशलाई प्रदान गर्ने र जुनको तेश्रो साता १६ मिलियन डोज प्रदान गर्ने घोषणा गरेकोमा दुबै घोषणामा नेपाललाई समावेश गरेको थियो । सोही अनुशार सोमबार भ्याक्सिन आइपुगेको हो ।

१५ लाख ३४ हजार ८ सय ५० डोज भ्याक्सिन काठमाडौं आइपुगेको नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । बेरीले भनेका छन् – ‘यो अमेरिकी जनताको तर्फबाट निशुल्क उपहार हो । राजनीतिक लाभका लागि हामी खोपको व्यापार गर्नेछैनौं । यो जीवनरक्षासँग जोडिएको विषय हो ।’

May be an image of outdoors

भ्याक्सिनका ५ मुख्य  विशेषता

१, जोन्सन एण्ड जोन्सनको भ्याक्सिन ठीक्कदेखि सिकिस्तसम्मको संक्रमण रोक्न ६६ प्रतिशत प्रभावकारी रहेको छ भने सिकिस्त हुनबाट रोक्न ८५ प्रतिशत प्रभावकारी रहेको छ । जोन्सन एण्ड जोन्सनको एउटा डोज लगाएको २८ दिनपछि कोरोनाको कारण अस्पताल भर्ना हुने र मृत्यु हुनेदर शुन्य रहेको छ । मोडेर्ना र फाइजरको तुलनामा जोन्सन एण्ड जोन्सनका साइड इफेक्ट पनि कम छन् ।

२, जोन्सन एण्ड जोन्सनको भ्याक्सिन २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा आइपुग्छ र यही तापक्रममा भ्याक्सिनको म्यादसम्मै भण्डारण गर्न सकिन्छ । त्यस्तै प्रयोगका लागि प्वाल पारिएको भ्याक्सिनको शीशी पनि यो तापक्रमममा ६ घण्टासम्म राख्न सकिन्छ । नेपालको स्वास्थ्य संरचनामा यो तापक्रममा भ्याक्सिन राख्न र वितरण गर्नमा समस्या छैन  नेपालमा भण्डारणका लागि समेत उचित व्यवस्था रहको छ ।

No photo description available.

३, प्राय सबै कोरोनाबिरुद्धका भ्याक्सिन दुई डोज लगाउनुपर्ने भएतापनि जोन्सन एण्ड जोन्सनको भ्याक्सिन एकडोजमात्र लगाए पुग्छ । भ्याक्सिन लगाएको १४ दिनपछि कोरोनाबिरुद्ध संरक्षण प्रदान गर्न सुरु गर्छ भने २८ दिनपछि पूर्ण संरक्षण प्राप्त हुन्छ । यो अमेरिकामा प्रयोगको स्वीकृति पाएको तेश्रो भ्याक्सिन हो भने यो भ्याक्सिन अमेरिकामा झण्डै १२ मिलियनले लगाएका छन् ।

४, यो भ्याक्सिन १८ बर्षभन्दा माथिका व्यक्तिलाई लगाउन अनुमति छ । यद्यपी ५० बर्षभन्दा कम उमेरका महिलालाई यो भ्याक्सिन लगाउँदा भने सावधान हुन चेतावनी दिइएको छ । भ्याक्सिन लगाएपछि कम प्लेटलेस र रगत जम्नसक्ने दुर्लभ जोखिमका कारण ५० बर्षभन्दा कम उमेरका महिलाले यो भ्याक्सिन लगाउँदा विचार गर्न भनिएको छ । भ्याक्सिन कोरोना संक्रमणबिरुद्ध सुरक्षित र प्रभावकारी रहेको तथा जोखिमको तुलनामा फाइदा धेरै भएकाले जोखिमलाई फाइदाले जितेको अमेरिकाको एफडीए र सीडीसीको निष्कर्ष छ ।

५, जोन्सन एण्ड जोन्सनको भ्याक्सिनले डेल्टा भेरियन्टबिरुद्ध बलियो संरक्षण प्रदान गर्ने अध्ययनले देखाएको छ । नेपालमा डेल्टा भेरियन्टको प्रभाव रहेको अवस्थामा यो भ्याक्सिन नेपालका लागि बढी उपयोगी सावित हुनेछ ।

May be an image of standing and airplane