असार १० मा जागिरबाट हटाउने सूचना, १२ गते सईमा बढुवा !
काठमाडाैं । नेपाल प्रहरीको बढुवा प्रणालीमा गम्भीर त्रुटी देखिएको छ । प्रहरी प्रधान कार्यालयले असार १० गते एक साताभित्र हाजिर हुन आउनका लागि सार्वजनिक सूचना जारी गरेका जोसेफ तावा १२ गते भएको सई बढुवा सिफारिसमा परेका छन् ।
उनलाई दुई महिनाअघि अर्थात् २०८३ वैशाख १६ गतेदेखि नै कार्यालयमा गैर हाजिर रहेको भन्दै प्रधान कार्यालयले एक साताभित्र हाजिर नभएमा जागिरबाट हटाउने गरी सार्वजनिक सूचना गरेको थियो । तर उनै तावालाई १२ गते भएको सई बढुवाको सिफारिसमा परेपछि प्रहरीको सिस्टममा गम्भीर त्रुटि देखिएको छ । १० गते सम्पर्कमा आउनका लागि सार्वजनिक गरेको व्यक्ति १२ गते नै बढुवाको सूचीमा पर्नुलाई मानवीय त्रुटी नभई संगठनको प्रतिष्ठामा आँच आउने विषय भएको मान्न सकिन्छ ।
यस किसिमको कार्यले जागिरबाट हटाउने प्रक्रियामा रहेको व्यक्तिका बारेमा प्रहरीको सिस्टममा कति ‘फल्ट’ वा बेवास्ता रहेछ भन्ने कुरा यस घटनाले देखाएको छ ।
झापाको हल्दीबारी घर भएका असई तावा ताप्लेजुङको प्रहरी चौकी सिवामा कार्यरत थिए । उनी गैरहाजिर भएपछि जागिरबाट हटाउने पक्रिया अघि बढिरहेकै बेला बढुवा सिफारिस भएका हुन् ।
