कार्की बने नयाँ संगठन प्रमुख, संक्षेपमा इन्सपेक्टरदेखि आईजीपीसम्मको यात्रा
काठमाडौं । नेपाल प्रहरीको ३३औँ महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्कीलाई नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो ।
वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ आगामी बुधबार (कात्तिक २६ गते) मध्यरातबाट अनिवार्य अवकाश पाउने भएसँगै रिक्त हुने पदका लागि सरकारले चार जना प्रतिस्पर्धीबाट वरियतामा शीर्षस्थानमा रहेका कार्कीलाई संगठनको कमाण्ड दिएको हो ।
उनीसँगै आईजीपीका लागि एआईजी राजन अधिकारी, डा. मनोज केसी र सिद्दिविक्रम शाह पनि प्रतिस्पर्धामा थिए ।
संक्षेपमा कार्की
गुल्मीको मालिका गाउँपालिका–७, घमिरमा २०२९ साल साउन १५ गते जन्मिएका कार्की प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट २०५४ साल चैत १८ गते सेवा प्रवेश गरेका थिए ।
कार्कीले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले मानविकी तथा समाजशास्त्र, शिक्षा शास्त्र र कानुनमा स्नातक तहको अध्ययन पूरा गरेका छन् ।
कार्कीले एसएसपीको जिम्मेवारीमा हुँदा काठमाडौं जिल्ला प्रहरी परिसरको कमान्ड सम्हालेका थिए । सोही अवधिमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको नेतृत्व गरेका थिए ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुख हुनुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए ।
यसअघि, डीआईजी हुँदा उनले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको कमान्ड सम्हालेका थिए । एसपी हुँदा जिल्ला प्रहरी कार्यालय कास्कीलगायत विभिन्न जिल्ला र कार्यालयको नेतृत्व गरेको अनुभव उनीसँग छ ।
उनले आफ्नो कार्यकालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महानगरीय ट्राफिक प्रहरी महाशाखा, लागु औषध नियन्त्रण ब्युरो र प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा समेत काम गरिसकेका छन् ।
इन्सपेक्टरदेखि आईजीपीसम्मको यात्राः
प्रहरी निरीक्षक : २०५४/१२/१८
प्रहरी नायब उपरीक्षक (डीएसपी) : २०६६/०८/२६
प्रहरी उपरीक्षक (एसपी) : २०७४/०४/१९
प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) : २०७९/०४/०३
प्रहरी नायब महानिरीक्षक (डीआईजी) : २०८१/०२/१३
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) : २०८२/०१/११
प्रहरी महानिरीक्षक (आईजीपी) : २०८२/०७/२४
