सेनाका सिपाही चढेको मोटरसाइकल र पिकअप ठोक्कियो, पाँचजना घाइते
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, बाँके चोक नजिक रेल्वे ट्रयाकमा सोमबार बिहान पिकअप र मोटरसाइकल ठोक्किँदा पाँचजना घाइते भएका छन्। दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको थियो।
प्रदेश ०३–०२८ प २१९१ नम्बरको मोटरसाइकल र बा.८ च ६५ नम्बरको पिकअप एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनजना नेपाली सेनाका सिपाही घाइते भएका हुन्। उनीहरू ईश्वरपुर–१५ का चन्द्रदेव धामी (२३), प्रशेस चौधरी (२२) र अमित चौधरी (२१) हुन्। तीमध्ये धामीको अवस्था गम्भीर रहेको र शरीरका धेरै भाग जलेको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ।
बिदाबाट फर्किएका धामी बस चढ्न साथीसँग बाँके चोकतर्फ आउँदै गर्दा दुर्घटना भएको हो। गम्भीर घाइते धामीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।
पिकअप चालक रामएकवाल महतो (४०) र यात्रु लेखनाथ उपाध्याय (६५) पनि सामान्य घाइते भएका छन्। चारजनाको मोडेल अस्पताल, लालबन्दीमा उपचार भइरहेको छ।
दुर्घटनास्थल एकान्त जंगल क्षेत्र भएकाले उद्धारमा स्थानीय र प्रहरी सक्रिय भएका थिए। मोटरसाइकल पूर्णरूपमा जलेको छ भने पिकअपको अगाडिको भागमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।
