पुनः कोरोना संक्रमणको त्रास, झापामा देखियो ८ जनामा संक्रमण
झापा । झापामा पुनः कोरोना संक्रमण देखा पर्न थालेको छ। स्वास्थ्य कार्यालय झापाका प्रमुख डा. रमेश बाराकोटीका अनुसार हालसम्म झापामा ८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये पाँच जना झापाका हुन् भने मोरङ, इलाम र दोलखाका एक–एक जना रहेका छन्।
संक्रमण पुष्टि भएसँगै मेचीनगर नगरपालिकास्थित काँकडभिट्टा नाकामा शंकास्पद व्यक्तिहरूको परीक्षण सुरु गरिएको छ। “नाकामा तीन जना स्वास्थ्यकर्मी खटिएका छन्,” प्रमुख बाराकोटीले बताए, “तर जटिल प्रकृतिका बिरामीलाई कहाँ राख्ने भन्नेमा अन्योल छ।”
उनका अनुसार कोभिडविरुद्धको १५ हजार मात्रा फाइजर खोप झापा आइपुगेको छ। नयाँ खोप तालिकाअनुसार जिल्लाका पालिकासँग समन्वय गरेर खोप वितरण कार्य अघि बढाइने तयारी भएको जनाइएको छ।
प्रमुख बाराकोटीका अनुसार नयाँ खोप कार्यक्रमअन्तर्गत रोग प्रतिरोधात्मक क्षमता कम भएका पाँच वर्षमाथिका बालबालिका, वयस्क र ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता दिइनेछ।
त्यस्तै, स्वास्थ्यकर्मी, बिरामीको प्रत्यक्ष सम्पर्कमा आउने व्यक्ति, गर्भवती महिला, १२ वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि प्राथमिकतामा राखिएको छ।
