वैकल्पिक मार्ग पनि अवरुद्ध हुँदा बुटवल–नारागणगढ खण्ड सडक सम्पर्क विच्छेद

मध्यविन्दु । बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दुम्कीबास क्षेत्रको वैकल्पिक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–१, दुम्कीबासमा पुल भाँचिएपछि ‘डाइभर्सन’बाट यातायात सञ्चालन गरिएको थियो । डाइभर्सन पनि बगाएपछि वैकल्पिक मार्गबाट सवारी ‘पास’ गराइएको थियो । सोमबार (असार ९) बिहानदेखि त्यो मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको हो ।

विनयी त्रिवेणी–३ स्थित खरंगे खोलामा वर्षाका कारण पानीको बहाव अत्यधिक बढेपछि उक्त वैकल्पिक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध बनेको प्रहरी उपरीक्षक यादव ढकालले बताए । हाल दाउन्ने–दुम्कीबासखण्डमा सवारीसाधन आवतजावत गर्न नसक्ने स्थिति छ ।

निरन्तरको वर्षासँगै पूर्वपश्चिम राजमार्गअन्तर्गत विनयी खोलामा निर्मित अस्थायी डाइभर्सन बगाएको थियो । डाइभर्सन बगाएपछि ‘होल्ड’मा राखिएका साना तथा मध्यम (१२ चक्केसम्म) सवारीसाधनलाई वैकल्पिक भित्री मार्ग हुँदै होङ्सी गेट, सर्दी र ज्यामिरे राजमार्ग प्रयोग गरी आवतजावत गराइएको थियो । त्यो मार्ग पनि अवरुद्ध भएपछि यातायात पूर्ण रूपमा बन्द रहेको प्रहरी उपरीक्षक ढकालले बताए ।

वर्षासँगै नदी तथा खोलामा बाढी र अस्थायी डाइभर्सनको भरपर्दो व्यवस्था नहुँदा यात्रीलाई कठिनाइ हुँदै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *