असई बस्नेतले गुमाए मोटरसाइकल दुर्घटनामा ज्यान



नेपालगञ्ज । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) को मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, बर्दियामा कार्यरत प्रहरी असई टोपबहादुर बस्नेतको बुधबार मृत्यु भएको हो ।

बाँकेको जानकी गाउँपालिका–४ स्थित मानपुरमा बस्नेतले चलाएको लु ७८ प ३८५० नं को मोटरसाइकल अनियन्त्रित भएर ट्रलीमा ठोक्किर दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

बाँकेको कोहलपुर नगरपालिका–२ शक्तिनगर निवासी ४५ वर्षीय बस्नेत कार्यालयको कामका लागि नेपालगञ्ज बजारबाट बर्दिया फर्कने क्रममा सो दुर्घटना भएको थियो।

उनको शव परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्जमा राखिएको छ।