

भीमादबाट हराएका कावासोतीका महेश ५ दिनपछि मृत फेला

पोखरा । तनहुँकाे भीमाद नगरपालिका-२ धरमपानीबाट बेपत्ता ३६ वर्षीय महेश सुवेदी ५ दिनपछि मृत फेला परेका छन् ।
घरमा सुतिरहेका नवलपुरको कावासोती बस्दै आएका सुवेदी फागुन १७ गते बिहान बेपत्ता भएका थिए ।
सुवेदीको खोजीका लागि परिवार तथा आफन्तले प्रहरीमा निवेदन दिएका थिए भने तनहुँको भीमादसहित स्याङ्जातर्फ खोजी कार्य गरेका थिए । भीमाद वडानम्बर २ को सालिमे पुछार र स्याङ्जाको हरिनास गाउँपालिकाको सीमामा रहेको कुलुङखोला किनारमा मृत भेटिएका हुन् ।
राति परिवारसहित सुतेका महेश बिहान कोठामा हेर्दा नदेखेपछि परिवारले खोजी थालेका थिए ।
उनको शव खोला किनारमा भेटिएपछि घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर पोषण केसीको टोली पुगेको थियो ।
सुवेदीको शव पोस्टमार्टमका लागि दमौली जिल्ला अस्पताल तनहुँमा राखिएको छ र बिहीबार नै उनको शव देवघाट पुर्याएर अन्तेष्टि गरिने परिवारले जनाएका छन् ।
उनको मृत्यु कारणबारे पोस्टमार्टमपछि जानकारी हुने प्रहरीले जनाएको छ ।