

मन्दिरमा पानी लिएर जाँदै गरेको ट्यांकर दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं । धादिङको गल्छि गाउँपालिका–३ मा ट्यांकर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गजुरी गाउँपालिका–६ बस्ने १८ वर्षका प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षका जयराम चेपाङ छन् ।
दुर्घटनामा घाइते भएको उनीहरूको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश हमालले जानकारी दिए ।
बुधबार बिहान गुप्तेश्वरभिरस्थित भित्रि कच्ची सडकमा आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गरेको बा.प्र ०१–००४ क ३३५२ नम्बरको ट्याङ्कर ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गजुरी ६ बस्ने १९ वर्षका सिरिश चेपाङ र १७ वर्षीय सुरेस चेपाङको जिल्ला अस्पताल धादिङमा उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
ट्याङ्कर चालक गजुरी ६ बस्ने २३ वर्षका दिनेश चेपाङलाई नियन्त्रणमा लिइएको छ ।