

ताप्लेजुङमा उग्ररुप, लाग्यो अनिश्चितकालीन निषेधाज्ञा (सूचनासहित)

ताप्लेजुङ । पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर भएको उग्ररुप लिएपछि ताप्लेजुङ प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
अहिले बिहान ५ बजेदेखि लागू हुने गरी ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिकाको बजार क्षेत्र र काफ्लेपाटी वल्लुडाँडा क्षेत्रमा अनिश्चित कालीन निषेधाज्ञा जारी गरेको हो ।
यसअघि शनिबार साँझ सदरमुकाम फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रारम्भिक विवरणअनुसार ५ नेपाल प्रहरी र दुई आन्दोलनकारी घाइते भएको जनाइएको छ ।
प्रशासनले निषेधाज्ञा जारी गरिएको स्थानमा ५ जना भन्दा बढी एकैठाउँ भेला भएर बस्न समेत बन्देज लगाएको छ ।
सूचनामा सदुरमुका फुङ्लिङ बजारसहित पूर्वतर्फ फुङलिङ नगरपालिका ७ सल्लेरी, पश्चिममा घोडेटार थलङधारा, उत्तरतर्फ उकालीपानी र दक्षिणतर्फ शेर्पा टोल, भेटेरिनरी कञ्चनजङ्घा टोलसम्म निषेधाज्ञा तोकिएको छ। पाथीभरा क्षेत्रको काफ्लेपाटी बलुडाँडाको पूर्वतर्फ पर्यटक प्रहरी भवन, पश्चिमतर्फ बलुडाँडा डढेले इलाका, उत्ततरतर्फ केबुलकार बेस स्टेशन र दक्षिणतर्फ निर्माणधीन नयाँ बसपार्कको १०० मिटर क्षेत्रभित्र सीमा निषेधाज्ञाका लागि तोकिएको छ।
उक्त क्षेत्रमा पाँच जना भन्दा बढी मानिस भेला हुन नपाउने, सभा, जुलुस, प्रदर्शन र घेराउजस्ता गतिविधि गर्न नपाउने सूचनामा भनिएको छ। उल्लंघन भएमा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ।