

धुँवामै बिलिइन् प्रकृती, वृद्ध हजुरबुवाले दिए दागबत्ती !

रुपन्देही । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद मृत्यु भएकी सिद्धार्थनगर निवासी विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि गरिएको छ।
भारतबाट गोरखपुर हुँदै बुधबार भैरहवा ल्याइए पुर्याइएको प्रकृतिको शव मध्यरातमा स्वर्गद्वारी घाटमा दाहसंस्कार गरिएको हो।
उनको शवलाई उनका हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका थिए । भावविह्लव हजुरबुवाले दागबत्ती दिँदा उपस्थित अन्य व्यक्तिहरु पनि भावविह्वल बनेका थिए ।
उनको मृत्यु भएको खबर सुनेलगत्तै ओडिसा पुगेका प्रकृतिका बुवा सुनिल लम्साल भैरहवा आइपुगेपछि मात्र अन्तेष्टीको तयारी गरिएको थियो ।
प्रकृतिको शव भारतको ओडिसा राज्यको भुवनेश्वरबाट ल्याएर केही बेर युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा राखिएको थियो।
बुवा आइसकेपछि उनको शव सिद्धार्थनगर—८ स्थित निवासमा पुर्याइएको थियो। त्यहाँ उनको अन्तिम श्रद्धाञ्जलीका लागि ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका थिए। त्यसपछि शवयात्रा निकालिएको थियो । शवयात्रामा स्थानीयका साथै उनीसँगै विश्वविद्यालयमा अध्ययन गर्ने सहपाठीहरु पनि सहभागी थिए ।