ड्युटीमा खटिएका प्रहरीमाथि हातपात, हवल्दार घर्तीको टाउकोमा गम्भीर चोट



काठमाडौं । काठमाडौंको ठमेलमा ड्युटीमा खटिएको प्रहरीमाथि गए राति हातपात भएको छ ।

प्रहरी वृत्त, दरबारमार्गअन्तर्गतको केशरमहल बिटबाट खटिएको (क्विक रेस्पोन्स टिम) क्युआरटीका दुई प्रहरीमाथि गए राति आक्रमण भएको हो ।

हातपात गर्ने व्यक्तिको खोजी सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आक्रमणबाट प्रहरी हवल्दार जगुलाल घर्तीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।

कुटपिट गर्नेहरू अस्कल क्याम्पस पढ्ने विद्यार्थीहरू रहेको खुलेको छ। प्रहरीले सिसिटिभीको माध्यमबाट खोजी गरिरहेको छ।

कुटपिटबाट प्रहरी हवल्दार घर्तीको टाउको र छातीमा चोट र दायाँ गाला सुन्निएको छ। यस्तै जवान विष्टको दायाँ आँखा मुनि सुन्निएको छ। क्युआरटी मोटरसाइकलको हेल्मेट, बत्ती र लेगगार्डमा क्षति पुगेको प्रहरीले जनाएको छ।