पोखरा र काठमाडौंपछि अब रविको पालो रुपन्देहीमा
पोखरामा ६५ लाख र काठमाडौंमा ६० लाख गरी कुल १ करोड १५ लाख धरौटी बुझाएका रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता
रुपन्देही । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
यसअघि विभिन्न सहकारीको रकम अपचलन गरेको अभियोगमा रवि लामिछानेले पोखरा र काठमाडौं जिल्ला अदालतबाट १ करोड २५ लाख धरौटी राखी रिहा भएका छन् ।
यसबाहेक रविलाई चितवन र पर्सामा पनि मुद्दा चलाउने तयारी गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा आज रास्वपा सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशी लगायत ४२ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ ।
प्रहरीले थप १४ गरी ४२ जना विरुद्ध मुद्दा चलाउने राय दिएपछि आज लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको हो ।
सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अनुसन्धान गरेर प्रहरीले लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित १४ जनाको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको थियो।
रविविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।
सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले बुझाएको यो दोस्रो पूरक अनुसन्धान हो । यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरूद्ध २०८१ वैशाख ३ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। त्यतिबेला सहकारी ठगीसम्बन्धी मात्र कसुर लगाई १ अर्ब ३ करोड मात्र बिगो माग गरेको थियो।
अभियोगपत्रमा लामिछाने र जोशी लगायतलाई सहकारी ठगी र संगठित अपराधको कसुर अनुसारको कारबाही र बिगो माग गरिएको छ।