गरिबका लागि ‘न्यानो’ बन्दै लहान नगरपालिका, शितलहरपीडितलाई बाँडियो ८० कम्बल
सिराहा । स्थानीय लहानबासीका हरेक समस्यालाई समाधान गर्दै आइरहेको लहान नगरपालिका पछिल्लो समय लहानका शीतलहरपीडित लहानबासीका लागि न्यानो बनेर आएको छ ।
दिनप्रतिदिन शितलहरले चीसोमा कठ्यांग्रीन विवश लहानबासीका लागि नगरपालिकाले कम्बल वितरण गरेको छ ।
नगरपालिकाका मेयर महेश चौधरीले पछिल्लो पटक लहान नगरपालिकाको वडा नं. ११ र १४ का संयुक्त गाउँ भिसाटोलका शीतलहर पीडितलाई नगरपालिकाको तर्फबाट ८० वटा कम्बल वितरण गरेका छन् ।
वितरण कार्यक्रममा वडा अध्यक्ष सुर्यनारायण चौधरी, वडा सदस्य रमेशकुमार यादव, पूर्व वडा अध्यक्ष महेश श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष अरुण यादवलगायतको उपस्थिति थियो ।
यसका साथै नगरपालिकाले विभिन्न स्थानमा घुर बाल्न दाउरा पनि उपलब्ध गराएको छ ।
यस बाहेक नगरपालिकाले अन्य वडाहरुमा पनि अत्यावश्यक विभिन्न सामाग्रीहरु वितरण गर्दै आएको छ ।