लम्बियो रवि लामिछानेको हिरासत बसाई, आज पनि सकिएन बहस, अब पर्सीमात्र हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगप्रकरणमा मुछिएका रवि लामिछानेको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरी हिरासतमै पठाउन आदेश भएको छ।

आज सोमबार सुरु भएको थुनछेक बहस नसकिएपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले हिरासतमै पठाउन आदेश दिएको हो।

भोलि मंगलबार सार्वजनिक बिदा छ। त्यसैले भोलि पनि उनी हिरासतमै हुनेछन्। उनलाई प्रहरीले बुधबार माघ २ गतेमात्रै अदालत उपस्थित गराउनेछ। उक्त मुद्दामा सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट ११ जनाले बहस गरे। सरकारी वकिलतर्फको बहस सकिएको छ।

जाहेरवालाका तर्फबाट पनि बहस सकिएको छ। अब लामिछानेका वकिलको बहस बाँकी छ। उनीहरूले बुधबार बहस गर्नेछन्। उक्त बहसपछि लामिछानेलाई थुनामा पठाउने या धरौटीमा छाड्ने फैसला हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *