डिएसपी तण्डुकार जब आफैं इनारभित्र पसे…
काठमाडौं । सुरक्षा निकायमा माथिल्लो तहका कमाण्डरले लगाएको काम गर्नु भन्ने तल्ला तहका कर्मचारीहरुलाई आदेश हुन्छ । कतिपय विपत्तिका घटनामा कमाण्डरहरुले तल्ला तहका कर्मचारीलाई फ्रन्टमा पठाएर आफू आदेश दिएर बस्ने गरेको प्रशस्तै उदाहरण भेट्न सकिन्छ ।
आफू जुन कमाण्डरको मातहतमा छ, उसले लगाएको काममा सरिक भईहाल्नुपर्ने भन्ने बुझिन्छ । कुनै पनि घटनाका क्रममा कुनै पनि कमाण्डरले आफू मातहतका कर्मचारीलाई कमाण्ड दिएर त्यस घटनाका बारेमा सत्यतथ्य पत्ता लगाउनुका साथै आपत् विपत्मा परेकालाई सुरक्षा दिनु भन्ने बुझिन्छ ।
तर, राजधानीमा बिहीबार साँझ भने त्यसको ठिक उल्टो देखियो र, त्यसको अपवाद बने जनसेवा प्रहरी जनसेवाका प्रहरी नायब उपरिक्षक (डिएसपी) रुकेश तण्डुकार ।
बिहीबार साँझ करिब साढे ६ बजे काठमाडौं महानगरपालिका वडा नं. २१ लगनस्थित अमिर स्थापितको घर कम्पाउण्डमा रहेको इनारमा एक महिला खसेपछि उद्धारका लागि गएको प्रहरी टोलीको कमाण्ड सम्हालेका डिएसपी तण्डुकार आफैं इनारमा पसेर जिवितै उद्धार गर्न सफल भए ।
काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ६ घर भई हाल जोरपाटी बस्ने ४३ वर्षीया सन्जु कोइराला इनारमा खसेपछि डिएसपी तण्डुकार आफैं इनारमा पसेर उनको उद्धार गरे ।
डिएसपी तण्डुकारले विपतमा परेकी कोइरालाको ज्यान जोखिममा रहेको बुझेपछि मातहतका कर्मचारीको मुख हेरेर बसेनन् । अरुलाई पठाउने निर्णय गर्दा उता महिलाको ज्यान गइसक्ने सम्भावनालाई मध्यनजर गर्दै डिएसपी तण्डुकार आफैं इनार पस्नुलाई उनको ‘क्वीक डिसिजन’ पावरका साथै कर्तव्यनिष्ठलाई पुष्टी गरेको छ । उनले चाहेको भए आफू नगएर अर्को प्रहरीलाई खटाउन पनि सक्थे । तर, उनले त्यसो गरेनन् । किननी केही सेकेण्डमात्रै पनि ढिला भएको भए घटनाले अर्कै रुप लिनसक्थ्यो, अर्थात् कोइराला नरहन पनि सक्थिन् ।
उच्च अधिकृतहरुको यस किसिमको कार्यले साना तहका कर्मचारीलाई पनि प्रोत्साहन मिल्ने एक जुनियर प्रहरी बताउँछन् । प्रायः कमाण्डरको आदेश पालना गर्ने प्रहरीलाई कमाण्डर नै प्रत्यक्ष रुपमा समस्या समाधानमा खटिनुले तल्ला तहका कर्मचारीको मनोबल बढ्ने मात्रै नभई प्रेरणा मिल्ने समेत उनी बताउँछन् ।
आम नागरिकको ज्यान बचाउनका लागि आफ्नो ज्यानको बाजी राख्ने प्रहरी संगठनमा तण्डुकार जस्ता उच्च अधिकृत पनि रहेका छन्, जसले नेपाल प्रहरीको साख बढ्दो छ, त्यसैले ‘स्यालुट ! डिएसपी तण्डुकार ।’