सन् २०२५ देखी २०३५ सम्मलाई पर्यटन दशकको रूपमा मनाउँछौंः मन्त्री पाण्डे
काठमाडौं । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सन् २०२५ देखि २०३५ लाई पर्यटन दशकको रूपमा मनाउने उद्घोष गरेका छन् ।
२६ औं नेपाल टुरिजम बोर्डको वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै मंगलबार मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, सन्,१९९८ मा पहिलो पटक नेपाल पर्यटन वर्षको रूपमा मनाएका थियौं । यसअघि नेपाल सरकारले सन २०२२ देखि २०३२ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको भए पनि त्यो कार्यविधि अभावका कारण त्यो पूरा हुन सकेन्। सरकारले अब सन् २०२५देखि ०३५ लाई पर्यटक दशकको रूपमा मनाउने छ।’
मन्त्री पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रुपान्तरणका लागि काम गरिरहेको बताए । उनले नेपाल पर्यटन पर्यटन विकासको लागि पर्यटनमैत्री नीति आवश्यक रहेको कुरालाई मध्यनजर गर्दे सरकारको नयाँ पर्यटन नीति तयार गरिरहेको र अब छिट्टै नयाँ नीति आउने बताए । उनले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पीपीपी)को अवधारणालाई आत्मसात गर्दै अन्तरराष्ट्रिय प्रर्वद्धनका कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडी बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिए ।
‘ नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त देश हो । यही विविधता बिचको एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास र विस्तार गर्नु आजको आवश्यकता हो । नेपालको आफ्नै मौलिक पर्यटन प्रडक्ट छ । यसलाई अन्तरराष्टिय बजारमा व्यापक प्रर्वद्धन गर्न आवश्यक छ,’ उनले भने ।