प्रधानसेनापति शर्माको बिदाई

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मालाई नेपाली सेनाले विदाइ गरेको छ। करिब ४२ वर्ष सेवा गरी यही भदौ २४ गते अनिवार्य अवकाश प्राप्त गर्न लागेका प्रधानसेनापति शर्मालाई बुधबार जङ्गी अड्डामा विशेष समारोह गरी नेपाली सेनाले विदाइ गरेको हो।

कार्यक्रममा रक्षा सचिव रामेश्वर दंगालले नेपाली सेनाको संस्थागत सुदृढीकरण, आधुनिकीकरण र व्यावसायिक क्षमता वृद्धिका लागि प्रधानसेनापति शर्माले पुर्‍याएको योगदान स्मरणीय रहने बताए। उनले प्रधानसेनापति शर्माको बौद्धिक व्यक्तित्व, रणनीतिक सुझबुझ र नेतृत्व कौशलबाट प्रभावित रहेको धारणा राखे।

प्रधानसेनापतिको रूपमा कार्यभार सम्हाल्न लागेका कायममुकायम प्रधान सेनापति अशोकराज सिग्देललाई बधाई ज्ञापन गर्दै रक्षा मन्त्रालय र नेपाली सेनाबीच रही आएको सौहार्दपूर्ण सम्बन्धलाई आगामी दिनमा थप सुदृढ र नतिजामुखी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए।

कायममुकायम प्रधान सेनापति अशोकराज सिग्देल शर्माको सन्तुलित जीवन तथा शालीन शैली, जटिल परिस्थितिहरूको वस्तुपरक ढङ्गबाट सामना गर्नसक्ने क्षमताबाट ज्यादै प्रभावित भएको बताए।

प्रधानसेनापति शर्माले नेपाली सेनामा नेतृत्व परिवर्तन नियमित प्रक्रिया रहेको भन्दै आफ्नो कार्यकालमा भएका दीर्घकालीन योजनाको कार्यान्वयन तथा अन्य साङ्गठनिक उपलब्धिहरू सम्पूर्ण सकलदर्जाको सामूहिक प्रयासबाट सम्भव भएको बताए।

कार्यक्रममा प्रधानसेनापति शर्माले नेपाली सेनालाई सम्झनास्वरूप उपहार प्रदान गरे भने नेपाली सेनाको तर्फबाट प्रधानसेनापतिलाई कामु प्रधानसेनापति सिग्देलले उपहार प्रदान गरे।

यस अघि प्रधान सेनापति शर्माले कामु प्रधानसेनापति सिग्देललाई नेपाली सेनाको झण्डा, प्रधानसेनापतिको झण्डा तथा छडी हस्तान्तरण गरेका थिए। प्रधानसेनापति शर्माको सम्मानमा एक टुकडीले सम्मान गारद समेत अर्पण गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *