अमेरिकामा मारिइन् अर्की नेपाली चेली, भोजपुरकी पाण्डेको गोली हानी हत्या



तस्बिरः सामाजिक सञ्जाल

टेक्सस (अमेरिका) – अमेरिकाको टेक्ससको ह्युज्टनस्थित एउटा अपार्टमेन्टमा बसोबास गर्दै आएकी नेपाली विद्यार्थी मुना पाण्डेको सोमबार साँझ गोली हानी हत्या गरिएको छ । उनको छातीमा धेरै गोली लागेको थियो ।

तीन वर्ष अघि अमेरिका आएकी २१ वर्षीया मुना सो अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन् ।

संदिग्ध अपराधीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । घटना थाहा भएपछि अपार्टमेन्टका अधिकारीहरुले एम्बुलेन्सलाई फोन गरेपछि तत्काल आएका एम्बुलेन्सका चिकित्सकहरुले जाँच गर्दा घटनास्थलमा नै उनको मृत्यु भइसकेको जनाएका थिए । प्रहरीले संदिग्ध अपराधीको बारेमा जानकारी दिन अनुरोध समेत गरेको छ ।

ह्युज्टन कम्युनिटी कलेजमा स्नातक तहमा अध्ययनरत पाण्डेको घर भोजपुर रहेको जनाइएको छ । पारिवारिक स्रोतलाई उद्धृत गर्दै समाचारपत्रहरुले जनाए अनुसार उनको एक जना श्वेत अमेरिकन केटासँग प्रेम सम्बन्ध थियो ।

उनकी आमा अनिता पाण्डे अधिकारीले हत्यारा पत्ता लगाउन नेपाली समुदायलाई आग्रह गरेकी छिन् ।