प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउन माग गर्दै परेको रिट न्यायाधीश फुँयालको इजलासमा

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै प्रहरी अधिकारीहरुले दायर गरेको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा परेको छ ।

२१ प्रहरी अधिकारीले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश फुयाँलको एकल इजलासमा पेसी तोकिएको हो।

३० वर्षे सेवाहदका कारण १५ भदौदेखि अवकाशमा जान लागेका नेपाल प्रहरीका पाँच एसएसपीसहित २१ जना प्रहरी अधिकारीले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरी किताबखाना समेतलाई विपक्षी बनाइएको रिटमा प्रहरी सङ्गठनमा ३० वर्षे सेवा अवधि हटाउन माग गरिएको छ ।

उमेर हद बाँकी नै रहे पनि सेवा अवधि ३० वर्ष पुगेका कारण अवकाशमा जानुपर्ने भएपछि उनीहरूले न्यायालय गुहारेका हुन् ।

आगामी १५ भदौदेखि डिआइजी विष्णु कुमार केसीसहित नेपाल प्रहरीका करिब एक सय अधिकृतले एकैपटक अवकाश पाउँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *