सेनाका कर्णेलको ‘कूदृष्टि’, महिला सैनिकलाई होटलमा बोलाएपछि कर्णेल बोहोरा पुगे हिरासत !

काठमाडौं । नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल महिला सैनिकलाई यौन हिंसा गरेको घटनामा मुछिएका छन्। आफ्नै मातहतमा कार्यरत एक महिला सैनिकलाई अनैतिक उद्देश्यसहित होटलमा बोलाएको उजुरी परेपछि सेनाका लेफ्टिनेण्ट कर्णेल तुलबहादुर बोहोरा यस्तो प्रकरणमा मुछिएका हुन् ।

बोहोराले अनैतिक उद्देश्यसहित होटलमा बोलाएको भन्दै महिला सैनिकले उजुरी दिएपछि सैनिक प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको जनाइएको छ ।

उनीमाथि सैनिक आचरणविपरीतको कसूर गरेको आरोप छ।

यस अघि यस्तै काण्डमा प्रमुख सेनानी विशेष पौडेल पनि सैनिक हिरासतमा पुगेका थिए । पछिल्ला दिनमा नेपाली सेनाभित्र अनेक किसिमका घटनाक्रम देखिइरहनुले नेपाली सेनाको साखमा आँच पुगेको देखिएको छ ।

बरिष्ठ अधिकृतहरु नै कहिले महिला काण्ड, नक्कली नागरिकता काण्ड, नक्कली शैक्षिक योग्यताको काण्ड, भ्रष्टाचार र अनियमितताका काण्डमा मुछिनुले नेपाली सेनाको प्रतिष्ठामा नै आँच आएको एक पूर्व उच्च सैनिक अधिकृत बताउँछन् । उनी भन्छन्, ‘हामी बहालमा रहँदा यस्ता किसिमका घटनाहरु घट्दैनथे, पछिल्ला दिनमा सुनिएका यस्ता घटनाहरुले जनतामा सेनाप्रतिको विश्वास घट्छ, त्यसैले बेलैमा सैनिक नेतृत्वले सेनाभित्रको शुद्धिकरणलाई ध्यान दिनुपर्दछ ।’

कर्णेल बोहोरामाथि अनुसन्धान भइरहेको सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *