खानीखोलाको लोगो सर्वोच्च शिखरमा, नासु बमबहादुरले चढे सगरमाथा



काभ्रे । काभ्रेको खानीखोला गाउँपालिकामा लेखापालको जिम्मेवारीमा रहेका बमबहादुर विकले विश्वको सर्वोच्च शिखर सगरमाथामा खानीखोला गाउँपालिकाको ब्यानर फहराएका छन् । उनको स्थायी घर रुकुमपश्चिम हो । उनले २०८१ जेठ ६ गते अर्थात (१) मे २०२४० बिहान ५ बजेर ५७ मिनेटमा सगरमाथामा पाइला टेकेका हुन् ।

काभ्रेको खानीखोला गाउँपालिकामा लेखापालको जिम्मेवारीमा रहेका उनले सगरमाथामा खानीखोला गाउँपालिका र सानोभेरी गाउँपालिका रुकुम पश्चिमको लोगो अङ्कित ब्यानर फहराए । योसँगै उनले ‘यात्रीको यात्रा’ नामको ब्यानर पनि सगरमाथामा फहराएका छन् । विकले यसअघिका र यो यात्रालाई ‘यात्रीको यात्रा’ नाम दिएका थिए ।

उनले यसअघि दक्षिण अमेरिकाको सर्वोच्च शिखर एकान्कागुवा र, अफ्रिकाको अग्लो चुचुरो किलिमाञ्जारो, किलर माउन्टेनको रूपमा परिचित मनास्लु हिमाल र लोबुचे पिकको समेत सफल आरोहण गरिसकेका छन् ।

सगरमाथा आरोहणपछि उनले भनेका छन्, ‘एक पटक फेरि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने चुनौतीपूर्ण, जोखिम, साहसिक सँगसँगै गौरवमय इतिहासका साथ अविस्मरणीय यात्रा बनाउन कठिन पूर्ण ठूलो निर्णय लिएकोमा यसले सार्थकता पाएकोमा म आफै दङ्ग भएको छु ।’ सगरमाथा आरोहणमा सहयोग गर्ने र हौसला प्रदान गर्नेहरू प्रति उनले धन्यवाद दिएका छन् ।

उनले सगरमाथा आरोहणका लागि सहयोग र हौसला प्रदान गर्ने आफू कार्यरत गाउँपालिकाका अध्यक्ष ईन्द्र बहादुर थिङ (छिन्ताङ), उपाध्यक्ष दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीहरू, वडा अध्यक्षहरू लगायत जनप्रतिनिधि र सहकर्मीहरू प्रति पनि आभार प्रकट गरेका छन् ।

संविधानले नै जातीय रूपमा छुवाछुत जघन्य अपराध स्वीकार गरेको परिपेक्ष्यमा सबै धर्म, जातजाति, वर्ग, लिङ्ग तथा समुदाय सबै समान हुन भन्ने मूल सन्देशसहित साहसिक काम मार्फत रचनात्मक राष्ट्रव्यापी सन्देश दिन सगरमाथा आरोहण गरेको उनले बताए । ‘हामी पनि सक्छौँ’ भन्ने मूल उद्देश्यसहित सामाजिक, आर्थिक, राजनैतिक तथा धार्मिक रूपमा पछाडि परेको वा पारिएको समुदायको एक पात्रको रूपमा प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गरेको उनको भनाइ छ ।