राेकिराखेको ट्रकमा माइक्रो ठाेक्कियो, २ को मृत्यु ६ घाइते



धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदीमा ट्रक र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

शनिबार बिहान नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख ८४ नम्बरको माइक्रोबस सडकमा रोकिराखेको ना ६ ख ४६० नम्बरको मालवाहक ट्रकमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

मृत्यु हुनेमा नवलपरासीको देउचुली–१६ का ५० वर्षीया हीरामाया गुरुङ र सोही ठाउँकी ६५ वर्षीया कृष्णकुमारी केसी रहेका छन् । दुर्घटनामा अन्य ६ घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि चितवन पठाइएको, दुई जनाको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको र एक घाइतेलाई सामान्य उपचारपछि घर पठाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।