ट्राफिक जवान घिमिरेको हत्या गर्ने यी हुन् ७ जना, १३ वर्षीय बालकदेखि ५६ वर्षीया महिलासम्म पक्राउ

काठमाडौं । नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले एक जना नाबालकसहित ७ जनालाई पक्राउ गरेको छ। ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको थियो।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय सचिन परियार, १६ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया बसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा, ३० वर्षीय अमृत तामाङ र एक जना १३ वर्षीय नाबालकलाई पक्राउ गरेको हो। उनीहरू सबै सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय बनाई बस्ने गरेका थिए।

काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार घिमिरेको हत्यामा संलग्नहरू अष्टनारायण हल पछाडि र २२ धारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउन्ड हवाई फायर गरिएको हो। प्रहरीले उनीहरूले हत्यामा प्रयोग गरेका इँटा, ढुंगालगायतका वस्तुहरूसमेत बरामद गरेको छ ।

खोटाङको मजुवागढी गाउँपालिका– १ घर भएका घिमिरेको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको छ। स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा शव फेल परेको थियो। घिमिरे सामाखुसीमा डेरा गरी बस्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *