१३ दिनकी सुत्केरी श्रीमतीको हत्यापछि केशवले गरे आत्महत्या



काठमाडाैं – सल्यानमा १३ दिने सुत्केरी श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका– ४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

केवलीको शव घाँटी रेटेर हत्या गरिएको अवस्थामा सुत्ने कोठामै र केशवको शव घरनजिकैको रुखमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए।

उनका अनुसार आज बिहान करिब ४ बजेको समयमा सुत्ने कोठामा श्रीमतीको हत्या गरी केशवले पनि आत्महत्या गरेका हुन् । रानादम्पतीका १३ दिनको नवजात शिशु छोरीसहित ४ छोराछोरी रहेको प्रहरी प्रमुख कार्कीले जानकारी दिए।

त्यसअघि आइतबार मात्रै  बनगाड कुपिण्डे नगरपालिका- ४ देउलीमा श्रीमानले श्रीमतीको घाँटी रेटेर हत्या गरी झुन्डिएर आत्महत्या गरेका थिए ।