पूर्व सभामुख महरा पक्राउ, भैरहवाबाट ल्याइयो काठमाडौं, सिआईबी पुर्याइँदै



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको जनाइएको छ । उनलाई यति एयरको जहाजबाट काठमाडौं ल्याइएको छ ।

महरालाई काठमाडौँ ल्याइएसँगै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा लगिँदै छ ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले महरालाई विमानस्थलबाट गाडीमा लाजिम्पाटस्थित सिआईबीको कार्यालयमा लगेको जनाइएको छ ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।