भूतपूर्व सैनिक सम्मेलन सम्पन्न



काठमाडौं । नेपाली सेनाको श्री नं. १३ बाहिनी अड्डा लगनखेल, ललितपुरमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । ‘भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा( सेनाप्रतिको समर्पण र भरोसा’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सम्मलेनमा तामाङ सेलो, लाखे, मगर समुदायको नृत्य, धिमाल समुदायको नृत्यलगायतका सांस्कृतिक कार्यक्रम, फरक क्षमता भएका भूपू सैनिकलाई ह्विलचेयर वितरण गरिएको थियो ।

नेपाली सेनाले सैनिक सेवामा रहँदा सिकेका तथा प्रदर्शन गरेका ज्ञान सिपलाई अवकाशपछि पनि समाजमा प्रदर्शन गर्ने अनुशासन र सेवाभावले समग्र नेपाली सेनाको छविलाई निर्धारण गर्ने हुँदा नेपाली सेनाले अवकाशपश्चात पनि सकल दर्जाको जीवनयापन सम्मानपूर्वक विताउन, अपेक्षा पहिचानलगायतका काम गर्न नेपाली सेनाले २०७० सालबाट भूपू सैनिक सम्मेलनको आयोजना गर्दै आएको छ।

नेपाली सेनाप्रति विश्वास र भरोसा जगाउने उद्देश्यसाथ सम्पन्न सम्मेलनले अवकाश प्राप्त सैनिकको अवकाश पछिको जीवनमा थप उर्जा र शक्ति प्रदान गर्नुको साथै समाजमा सम्मानित जीवनयापन गर्दै सेनाप्रति सकारात्मक सोचको विकास एवं राष्ट्रिय एकतामा टेवा दिन थप उर्जा तथा हौसला मिल्ने विश्वास लिइएको छ ।

सम्मेलनका अवसरमा भूपू र आश्रित परिवारको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि प्रदानका साथै टोपी, सल, ट्रयाकसुट, स्वीटरसहितको झोला र आतेजाते दैनिक भ्रमणभत्तासमेत उपलब्ध गराउने सैनिक परम्परा छ ।