हे बरै ! एक महिनाको खानेपानीको बिल ६ लाख !



काठमाडौं । तपाईंले एक महिना धाराको पानी प्रयोग गरेबापत कति पैसा तिर्ने गर्नुभएको छ ? सामान्य अवस्थामा सय/दुईसय/पाँचसय हजार । तर, दोलखा भीमेश्वरका स्थानीयहरुको मा भने लाखौंको बिल आउने गरेको छ ।

सय/हजार तिरिरहेको बेला लाखौंको एक्कासी लाखौंको बिल आयो भने तपाईं के गर्नुहुन्छ ? त्यस्तै भएको छ दोलखाकी दुर्गा भुजेललाई । भीमेश्वर नगरपालिका वडा नं. ६ कि दुर्गा भुजेलको पुसको भनिएको पानीको बिल ५ लाख ९८ हजार २ सय १० रुपैयाँ आएको छ । लाखौंको बिल आएपछि दुर्गा उठिबास हुने डरमा छिन् ।

‘पानी नै प्रयोग गरिएको छैन, मिटरबाट पानी चुहिरहन्छ’ उनले रुन्चे स्वरमा भनिन्, ‘नपत्याउने गरी त्यत्रो बिल आउँदा म त बेहोसै भएँछु । पछि होसमा आएर फेरि हेरें, हेरेको हेर्यै भएँछु । श्रीमान् र छोराछोरी सबैलाई देखाएँ, अझै होसमा छु जस्तो छैन ।’

‘अरु महिनाको त थाहा छैन,’ उनले भनिन्, ‘मंसिरमा पनि ५९ हजारको प्रयोग नै नगरिएको पानीको बिल आएको रहेछ । कार्यालयमा गएर गुनासो गर्दा पहिला त कम्प्युटरले गल्ती गर्दैन भन्ने कुरा आयो । धेरै अनुनयन विनय गर्दा बल्ल तपाईंको मिटर बिग्रिएको परेछ । अर्को मिटर जडान गरिदिन्छौं, यो पैसा तिर्नुपर्दैन त भनियो तर विश्वास लागेको छैन । म सँग दुई लाख रुपैयाँको घर छैन पानीको बिल भने लाखौंको आउँछ ।’

उनी त एक उदाहरण मात्र रहेको भीमेश्वरका स्थानीय बताउँछन् । ‘उनको मात्र होइन यहाँ अरुको पनि यस्तै बिल आउने गरेको छ, यो खानेपानी संस्थाकै लापरबाही हो,’ उनले भने ।