ज्वाइँ श्रीकृष्ण, जसले गरे सासुका लागि कलेजो दान

काठमाडौं । नेपालमा भएका अङ्गदानमध्ये ९० प्रतिशत महिलाले पुरुषलाई दान गरेका छन् । पुरुषले महिलालाई अङ्गदान गरेको विरलै पाइन्छ तर ज्वाइँले सासूलाई कलेजो दान गरेका छन् ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सोमबार २२ औँ कलेजो प्रत्यारोपण भएको छ । कलेजो प्रत्यारोपणमा ज्वाइँले सासूलाई कलेजो दान गरेका हुन् । ६५ वर्षीया सासू लक्ष्मीदेवी श्रेष्ठलाई उनका ४५ वर्षीय ज्वाइँ श्रीकृष्ण मानन्धरले कलेजो दान गरे ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा कलेजो प्रत्यारोपणविज्ञ डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा ज्वाइँको कलेजो सासूलाई प्रत्यारोपण गरियो । हाल कलेजो दान गर्ने ज्वाइँ र सासूको स्वास्थ्य अवस्था सामान्य रहेको छ । डा. श्रेष्ठले ज्वाइँले सासूलाई कलेजो दान गर्नुले समाजमा ठुलो सन्देश दिएको बताए।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले ज्वाइँले सासूलाई कलेजो दान गर्नु ठुलो उपलब्धि भएको बताए। ‘यो घटनाबाट अन्य पुरुषले पनि पाठ सिक्नु पर्छ,’ उनले भने, ‘सासूलाई कलेजो दान गर्नु समाजकै लागि नमुना हो ।’

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमै पहिलो पटक २०७३ सालमा कलेजो प्रत्यारोपण गरेको थियो । केन्द्रले ११ वर्षको अवधिमा नेपालमा एक हजार २१२ जनाको मिर्गौला र २२ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । केन्द्रमा १५ देखि २० लाख रुपियाँमा कलेजो प्रत्यारोपण हुने गरेको छ ।

केन्द्रका मिर्गौला रोग विशेषज्ञ डा. कल्पना श्रेष्ठले मिर्गौला प्रत्यारोपण भएको कुल एक हजार २१२ प्रत्यारोपणमा अङ्गदाता महिला ८७३ (७२ प्रतिशत) र पुरुष ३३९ (२८ प्रतिशत) मात्र ग्रहणकर्ता छन् । ग्रहणकर्ता महिला २४६ (२१ प्रतिशत) हुँदा पुरुष ९५६ (७९ प्रतिशत) भएबाट नै महिला र पुरुषबीच भेदभावको अवस्था देखिएको छ । -गोरखापत्र दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *