मन्त्रीमण्डलमा दलित ‘शून्य’, बरियतामा हेपिएका रास्वपा र एमाले !



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा २० सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर पुनः पहिले नै दुत्कारेको गठबन्धनलाई पुर्नजीवन दिँदा ‘मिसन ८४’ को नारा लिएर अगाडि बढी रहेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चारवटा मन्त्रालय हात पार्यो ।

काण्डै काण्डहरुको बीचबाट उठेर रास्वपा सभापति लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको कुर्सी सम्हाल्दै गर्दा रास्वपाबाट संसदमा प्रतिनिधित्व गर्ने डीपी अर्यालले पनि दोहोरिने मौका पाए । यसअघि २२ दिन मन्त्रालय सम्हालेका अर्यालले अघिल्लो मन्त्रालयलाई नै निरन्तरता दिने अवसर पाए । भने, नयाँ दुई जना विराजभक्त श्रेष्ठ र सुमना श्रेष्ठले पहिलोपटक झण्डावाला गाडीमा सवार हुने अवसर पाए ।

प्रधानमन्त्रीले पुनर्गठन गरेको मन्त्रालयअनुसार आफूपछिको बरियतामा संसदकै दोस्रो ठूलो दल वा नवगठबन्धनको ठूलो दल नेकपा एमालेका रघुविर महासेठलाई राखे भने त्यसपछि आफ्नै पार्टीका नारायणकाजी श्रेष्ठलाई तेस्रो नम्बरमा राखे । त्यसपछि तेस्रो उपप्रधानमन्त्रीको हैसियतले रवि लामिछानेलाई राखे ।

त्यसपछि मन्त्रीहरुको शीर्ष बरियतामा वर्षमान पुनलाई राख्दा त्यसपछि भने वहालवाला मन्त्री शक्तिबहादुर बस्नेत रहे । त्यसपछि भने समाजवादीका भानुभक्त जोशीलाई बरियतामा समेटेका प्रचण्डले त्यसपछि आफ्नै दलका मन्त्रीहरुलाई निरन्तरता दिए । त्यसपछि एमाले र नेकपा एसका मन्त्रीहरुलाई बरियतामा राखेका प्रचण्डले मन्त्रीहरुको पछिल्लो बरियतामा रास्वपाका नेताहरुलाई राखेको देखिएको छ । उपप्रधानमन्त्रीहरुमा पनि अन्तिममा रास्वपा र मन्त्रीहरुको अन्तिम बरियतामा रास्वपाका मन्त्रीहरुलाई राखिनु संयोगमात्रै पनि हुनसक्छ । बरियताको शीर्ष टप-१० मा प्रधानमन्त्री प्रचण्डसहित माओवादी केन्द्रका ६ जना, नेकपा एमालेका २ जना, नेकपा एस र रास्वपाका १/१ जना परेका छन् ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले गठन गरेको नयाँ मन्त्रीमण्डलमा एक जना पनि दलित सांसद नपर्नु पनि अचम्मकै विषय देखिएको छ । त्यस्तै ३३ प्रतिशत महिलाको नारा लगाइने गरेकोमा यसपटकको मन्त्रिपरिषद्मा २० जनामा ४ जना अर्थात् २० प्रतिशत महिला रहेका छन् ।

No description available.