पाल्पामा टिपर दुर्घटना, १ को मृत्यु, २ घाइते



पाल्पा – पाल्पाको रिब्दीकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ दुई जना गम्भीर घाइते भएका छन्। बिहीबार बेलुकी सबा ८ बजेतिर रिब्दीकोट–२ लघुवामा दुर्घटना हुँदा वडा नम्बर ३ का ३० वर्षीय विष्णु ढकालको मृत्यु भएको हो।

दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–३, का ३२ वर्षीय यमराज पुन र रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका ५ का ३५ वर्षीय हिमाल घर्ती गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। तानसेनस्थित मिसन अस्पतालमा उनीहरूको उपचार भइरहेको छ।

गुल्मीबाट पाल्पातर्फ आइरहेको रा १ ख २४०४ नम्बरको टिपर सडकबाट १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

टिपर चालक घोराही–१६ का अजय चौधरी भने सकुशल रहेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।