सशस्त्रको पेट्रोल पम्पलाई १ लाख जरिवाना
काठमाडौं । गुणस्तर तथा नापतौल विभागले सशस्त्र प्रहरीको हलचोकस्थित पेट्रोल पम्पलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ ।
कम परिमाणमा डिजेल बेचेको छानबिनमा पुष्टि भएपछि जरिवाना गरिएको विभागले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँ र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले गरेको अनुगमनमा उक्त पेट्रोल पम्पमा रहेको डिजेलको एउटा नोजलबाट २५ एमएल कम डिजेल आएपछि कारबाही गरिएको हो ।
पाँच लिटरमा जाँच गर्दा २५ एमएलसम्म कम डिजेल आएको गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँका सूचना अधिकारी निराजन पुडासैनीले जानकारी दिए । उनका अनुसार ऐन नियमले दिएको घट बढीको हद पाँच लिटरमा १५ एमएलसम्म रहेको छ ।
कार्तिक १ गते भएको अनुगमनमा सो पम्पको एउटा नोजलबाट कम परिमाणमा डिजेल आएपछि कार्यालयले प्राविधिकसहित थप अनुसन्धान गरेको थियो । अनुसन्धानमा पनि कम परिमाणमा डिजल आएपछि अधिकतम एक लाख रुपैयाँ जरिवाना गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपालका प्रहरी वरिष्ठ उपरीक्षक एवम् प्रवक्ता राजेन्द्र खड्काले पाँच पटक परीक्षण गर्दा एउटा नोजलमा दुई पटक कम परिमाणमा पेट्रोल आएको बताए । उनले भने, ‘नापतौलकै कर्मचारीले सेट गर्ने भएकाले हाम्रा मान्छेले चाहेर पनि तलमाथि हुने कुरा भएन । कुनै इन्टेन्सनले गरेको पनि होइन ।’
यसैगरी टोलीले दसैँ अघि गरेको अनुगमनमा काठमाडौँ उपत्यकाका अन्य चार वटा पेट्रोल पम्पमा पनि कम परिमाणमा पेट्रोलियम पर्दाथ विक्रिवितरण भएको पाइएको थियो । भ्यालीबाबा सप्लार्यस, तीनकुने (पेट्रोल २० एमएल कम), श्यामा आयल, कलङ्की (डिजेल २० एमएल कम), हरिसिद्धी आयल स्टोर, नयाँ बानेश्वर (दुई वटा नोजलमा पेट्रोल ३० एमएल कम) र महालक्ष्मी विश्वकर्मा टेडर्स, सातदोवाटो (डिजेल २५ एमएल कम) मा कम परिमाणमा डिजेल र पेट्रोल वितरण भएको पाइएको थियो । कैफियत भेटिएका चार वटा पेट्रोल पम्पमाथि कारबाही प्रक्रिया अगाडी बढाएको पुडासैनीले जानकारी दिए ।