नेपालको संसद्‍मा राष्ट्रसंघ महासचिव– नेपाल शान्तिको प्रवर्द्धक हो, विश्वले सिक्नुपर्छ

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारप्रति समवेदना प्रकट गरेका छन्।

मंगलबार दिउँसो संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले समवेदना तथा श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

महासचिव गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताए । महासचिव गुटेरेसले नेपाललाई राष्ट्रसंघका तर्फबाट सम्मान व्यक्तसमेत गरे ।

महासचिव गुटेरेसले भने,’नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्र सङ्घ गौरव व्यक्त गर्दछ, यस क्षणमा म नेपालका शान्ति प्रक्रियामा संलग्न नेताहरूप्रति राष्ट्रसंघका तर्फबाट सम्मान व्यक्त गर्दछु।’

उनले नेपाल शान्तिको देश समेत भएको बताएका छन्। सम्बोधनको क्रममा उनले नेपालमा आफ्नो दोस्रो भ्रमण भएको बताए ।

नेपालले शान्ति प्रक्रियाअन्तर्गत संक्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पुर्‍याउन लागेकामा शुभेच्छा व्यक्त गर्दै महासचिव गुटेरेसले पीडित पक्षको अधिकारको रक्षा गर्दै उक्त प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन आग्रह गरे ।

महासचिव गुटेरेसले विश्व आर्थिक मन्दीको चुनौतीका बीच नेपालले लैंगिक समताका क्षेत्रमा गरेको प्रगति र परिणाम उल्लेखनीय भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *