सीमानाका सुरक्षा चुस्तदुरूस्त राख्न सशस्त्र आईजी अर्यालको निर्देशन



कपिलवस्तु। सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले सीमा नाका सुरक्षा चुस्तदुरुस्त राख्न निर्देशन दिएका छन् ।

महानिरीक्षक अर्यालले सिमानामा हुने आपराधिक गतिविधिलाई निर्मूल बनाई शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीलाई अनुरोध गरे ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी मुख्यालय रूपन्देही चन्द्रौटा कपिलवस्तको छैटौँ स्थापना दिवसमा उनले सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाउन निर्देशन दिए ।

प्रदेशभर खटिएका सबै सशस्त्र प्रहरीलाई सीमा सुरक्षा र विपद् व्यवस्थापनमा अनुशासन भई प्रस्तुत हुन महानिरीक्षक अर्यालले निर्देशन दिए । उनले भने, ‘विदेशी पर्यटक हाम्रो पाहुना भएकाले पर्यटकलाई कुनै पनि बहानामा दुःख नदिनू ।’

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी मुख्यालय रूपन्देही चन्द्रौटा कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्रीले सिमानाको शान्ति सुरक्षा र अपराध नियन्त्रणको लागि सशस्त्र प्रहरी अहोरात्र खटिँदै आएको बताए ।