ड्युटीमा रहेका इन्स्पेक्टर कटुवालमाथि बञ्चरो प्रहार



झापा । सवारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवाललाई आज साँझ ७ बजेतिर एक युवाले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका छन् ।

झापाको पूर्वपश्चिम राजमार्गस्थित झरना खोला नजिक नियमित सवारी जाँचमा प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी खटिएका थिए । तीन जना युवा सवार एउटा मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिने क्रममा एक युवाले बञ्चरोले कटुवाललाई अचानक प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।

उनका अनुसार घाइते प्रहरी निरीक्षक कटुवालको टाउको र हातमा गम्भीर चोट लागेको छ । बिर्तामोडको बिएण्डसी अस्पतालमा उनको उपचार भइरहेको छ । प्रहरीले आक्रमणमा संलग्नसहित तीनै जना युवालाई नियन्त्रणमा लिएको छ । आक्रमणमा संलग्न युवा मादकपदार्थ सेवन गरेर लठ्ठ भई मोटरसाइकलमा सवार रहेको प्रहरीको भनाइ छ ।

मोटरसाइकल रोके लगतै मोटरसाइकल पछाडि सवार शिवसताक्षी-९ का ३६ वर्षीय अशोक पोखरेलले लुकाइछिपाई ल्याएको हाते बन्चरोले इन्स्पेक्टर कटुवालको टाउकोमा अचानक प्रहार गरेका थिए। कटुवालको टाउकोमा दुई ठाउँमा चोट लागेको छ। उनको टाउकोमा ८ टाँका र हातको औलामा ३ टाँका लगाइएको डीएसपी रिजालले बताए।

घटनामा संलग्न मोटरसाइकल चालक सोही ठाउँका ३२ वर्षीय विकास भन्ने अरुण तामाङ, मोटरसाइकलमा सवार सोही ठाउँका ३३ वर्षीय लक्ष्मण टुडू ,बन्चरो हान्ने पोखरेलसहित तीन जना, मोटरसाइकल र बन्चरो नियन्त्रणमा लिएको उनले बताए।