लहानको विकासमा अर्थमन्त्रीसमक्ष मेयर चौधरीको गुनासो, ‘कांग्रेसकै अर्थमन्त्री हुँदा किन बजेट काटियो ?’



लहान । लहान नगरपालिकाका मेयर महेश चौधरीले लहान नगरको विकासका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतसँग आह्वान गर्दै विशेष विकासका योजनाहरुको लागू गर्न माग गरेका छन् ।

नेपाली कांग्रेसको जिल्लास्तरीय कार्यकर्ताहरुको आन्तरिक विशेष अभियान समारोहमा बोल्दै नेपाली कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका चौधरीले लहानको विकासका लागि स्थानीयस्तरबाट भन्दा संघीयस्तरबाट नै विभिन्न योजनाहरु पारिदिनका लागि अर्थमन्त्रीसमक्ष आग्रह समेत गरे ।

उक्त अवसरमा मेयर चौधरीले विगतमा सिराहा जिल्ला नेपाली कांग्रेसको बलियो गढ भएता पनि पछिल्लो समयमा कांग्रेसका लागि सुखद नरहेको जनाउँदै लहान नगरपालिका नै अहिलेसम्म नेपाली कांग्रेसका लागि बलियो नगर भएको बताए ।

उक्त अवसरमा मेयर चौधरीले लहान नगरपालिकाको इतिहासका बारेमा सामान्य जानकारी दिँदै २०३० सालमै नगरपालिका बनेको लहानको अहिलेसम्म विकासका हिसाबले पछाडि नै रहेको बताएको बताए । उनले लहानको विकासका लागि केन्द्रले बजेट नपारेको बताउँदै आर्थिक हिसाबमा पनि मधेश प्रदेशबाट लहानले सबैभन्दा बढी राजस्व बुझाउने गरेको तथ्य जानकारी गराउँदै यदि लहानको विकास गर्न नसकेको खण्डमा आगामी दिनमा लहानका अरु नगरपालिकामा जस्तै यस नगरपालिकामा पनि नेपाली कांग्रेसले पराजय भोग्नुपर्ने अवस्था आउने बताए ।

उनले लहान नगरका साथै मधेश क्षेत्रभित्रका किसानका लागि अर्थमन्त्रीले विशेष योजना बनाउने अपेक्षा समेत लिएको बताए ।

उक्त अवसरमा दिवगंत नेता प्रदीप गिरीको स्मरण गर्दै सिराहाको विकासमा आप्mनो अभिभावक गुमाएको महसुस गरेको बताए । साथै मेयर चौधरीले अर्थमन्त्री डा. महतसमक्ष गुनासो पोख्दै उदयपुरको नेपालटार र भारतीय सिमा जोड्ने सडकका लागि यस पटक बजेट नपारिनुले लहानलाई केन्द्रबाट उपेक्षा गरिएको अनुभूति स्वयं आफू र लहान नगरबासीले गरेको बताए ।

रातो किताबमा परिसकेको सडकका लागि यसपटक कांग्रेसकै अर्थमन्त्रीले बजेट विनियोजन नगर्नु दुःखद रहेको बताउँदै मेयर चौधरीले जसरी पनि लहानका लागि केन्द्रले सहयोग गर्नुपर्ने बताए ।