प्रहरी जवान चौधरीले दुर्व्यवहार गरेको युवतीको आरोप, स्थानीयद्वारा राजमार्गमा प्रदर्शन, जवान पक्राउ



धनुषा । धनुषामा एक प्रहरी जवानमाथि किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । प्रहरी चौकी लालगढका प्रहरी जवान रुपेश चौधरीले स्थानीय १४ वर्षीय किशोरीमाथि यौन दुर्व्यवहारको आरोप लागेको हो ।

मंगलबार राति करिब १० बजेको समयमा प्रहरी जवान चौधरीले ती किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप छ । उनलाई अहिले पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

‘बालिका मामाको घरमा पूजामा गएको थिइन्,’ डीएसपी गौतमले भने,‘दुईजना प्रहरी पनि त्यहाँ प्रसाद खान गएका रहेछन् । सोही क्रममा प्रहरी जवान चौधरीले अन्जानमा किशोरीको जिउमा छोइएको बताएका छन् । तर, पीडित पक्षले दुर्व्यवहार नै गरेको आरोप लगाएका छन् ।’

यस विषयमा अनुसन्धान भइरहेको उनले बताए ।  यसअघि प्रहरीले घटना लुकाउन खोजेको भन्दै स्थानीयहरुले प्रहरीविरुद्ध पूर्व-पश्चिम राजमार्गमा अवरुद्ध गर्दे गरेका थिए ।