प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थको सहमति, अन्याैलमै १६ वर्षमा पेन्सन !



काठमाडौ ।  नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले सहमति दिएको छ । गृह मन्त्रालयले पठाएको ‘सेवा अवधि हटाउने प्रस्ताव’मा अर्थ मन्त्रालयले सहमति दिएको हो ।

३ दिनअघि अर्थ मन्त्रालयले सहमतिमा राय दिएर गृह मन्त्रालयमा पठाएको छ । अर्थले कानुन बनेको १ वर्षपछि लागु गर्ने गरी ३० वर्षे सेवा अवधि हटाउन ‘राय’ दिएको हो ।

रायमा भनिएको छ–‘उमेर हद, सेवा अवधि तथा ३० वर्षे सेवा अवधि हटाउने लगायतका प्रस्तावित विषय निजामती सेवा ऐन–२०४९ को दफा २५ को प्रावधान समेतका आधारमा एक वर्षपछिको मितिदेखि लागु हुने गरी व्यवस्था गर्नुपर्ने ।’

अर्थ मन्त्रालयले दिएको राय अनुसार गृह मन्त्रालयको कानुन महाशाखाले छलफल गरिरहेको छ ।

संघीय प्रहरी ऐनको अर्को महत्वपूर्ण विषय जवान र हवल्दारलाई १६ वर्षमै पेन्सन दिने प्रस्तावमाथि भने अर्थ मन्त्रालयले प्रश्न उठाएको छ । एकातर्फ ३० वर्षे सेवाहद हटाएर जागिर लम्ब्याउने प्रस्ताव र अर्कोतर्फ १६ वर्षमै पेन्सनसहित स्वेच्छिक अवकाशको प्रावधान विरोधाभासपूर्ण भएको उसको राय छ ।

प्रहरी प्रधान कार्यालयले हवल्दारसम्मलाई १६ वर्ष तथा असइ, सइ र वरिष्ठ सइसम्मलाई १८ वर्षमा स्वेच्छिक अवकाश दिने प्रस्ताव अघि बढाएको थियो । १६ वर्षमै अवकाश लिए पनि २० वर्ष अवधि पुगेपछि मात्र पेन्सन दिने सर्तमा यस्तो प्रस्ताव अघि बढाइएको हो । नेपाली सेनामा तीन वर्षअघिदेखि नै यो मोडल कार्यान्वयनमा छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलभित्र पनि यसको माग हुँदै आएको छ । तर, पटक–पटकको प्रयास सफल हुन सकेको छैन । अर्थ मन्त्रालयले पनि यो प्रावधान उपयुक्त नभएको जनाएको छ ।